काठमाडौं । रामेछापमा निर्माण हुने ५७.५ मेगावाटको नुप्चे–लिखु जलविद्युत आयोजनाको काम सुरु गर्न आगामी बैशाखदेखि ठेकेदार परिचालन गर्ने तयारी छ । निर्माणपूर्वका अधिकांश काम पूरा भएकाले लक्षित समयभित्र ठेकेदार परिचालन गरी कामलाई तीव्रता दिने गरी प्रक्रिया थालिएको हो ।

कम्पनीले गत फागुन ९ गते सिभिल निर्माणका लागि सोनाम इन्फ्रास्ट्रक्चर कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ । ठेकेदार कम्पनीले पनि चाँडो काम सुरु गर्न पूर्वतयारी भइसकेको जनाएको छ । आयोजनास्थलमा कामदारका लागि आवास निर्माण, निर्माणसम्बन्धी उपकरण ढुवानी लगायत काम बर्खा अघि नै सक्ने योजना छ ।

कम्पनीले अहिलेसम्म विद्युत खरिद सम्झौता (पिपिए), वित्तीय व्यवस्थापन, विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने लगायत काम पूरा गरेको छ । भिजन इनर्जी एन्ड पावर प्रालिले निर्माण गर्ने आयोजनाका लागि ८.२ किलोमिटर सुरुङ खनिनेछ ।

कम्पनीका अनुसार नुप्चेको छाँगे र लिखु खोलाको गोण्डाखर्कमा आयोजनाको बाँध निर्माण गर्ने गरी अध्ययन गरिएको छ । नुप्चेतर्फबाट १६ सय ७७ मिटर र लिखुतर्फबाट १४ सय ३६ मिटर सुरुङ खनेर ल्याएको पानी एकै विन्दुमा मिसाइनेछ।

सोही विन्दुबाट पुनः ३२ सय ५ मिटर मुख्य सुरुङ खनिन्छ । त्यहाँबाट ३ सय मिटर ठाडो सुरुङ र १६ सय मिटरको पेनस्टक सुरुङबाट पानी विद्युतगृहमा खसाल्ने योजना छ ।

समुद्र सतहदेखि झन्डै ३ हजार ३ सय ४० मिटर उचाईमा बाँध र २ हजार ७ मिटर उचाईमा विद्युतगृह निर्माण हुने यो सम्भवतः देशकै पहिलो आयोजना हो । हिमाली क्षेत्रमा निर्माण हुने हुँदा हिँउदमा काम गर्न अलि कठिनाई हुने देखिन्छ । तर, चुस्त व्यवस्थापन भएकाले निर्माणमा कुनै समस्या नआउने कम्पनीका अध्यक्ष टिएन आचार्यले बताए ।

हिमाल पानीको स्रोत भएकाले पनि वार्षिक ३ सय ८१ गिगावाट प्रतिघन्टा ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ । क्यू४५ मा डिजाइन गरिएको आयोजनाबाट पहिलो वर्ष २ अर्ब ३५ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ ।

विद्युतगृहदेखि २४ किलोमिटर टाढा प्राधिकरणले निर्माण गर्ने गज्र्याङ सबस्टेसनमा उत्पादित विद्युत जोडिनेछ । सबस्टेसनसम्मको १३२ केभी प्रसारण लाइन कम्पनी आफैंले निर्माण गर्नेछ । आयोजनामा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले पनि ५० करोड रुपैयाँ स्वपुँजी लगानी गर्ने निर्णय गरेको छ ।

निजी क्षेत्रले निर्माण गर्ने आयोजनामा सरकारी कम्पनीले स्वपुँजी लगानी गर्न सम्झौता गरेको यो पहिलो आयोजना हो । यही कारण आयोजना बढी प्रतिफलयुक्त, कम जोखिमपूर्ण र दक्ष व्यवस्थापन तथा सुशासनयुक्त रहेको आचार्यको दाबी छ ।

१० अर्ब ५७ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी छ । नुप्चे–लिखुमा माछापुच्छ्रे बैंकको नेतृत्व तथा हिमालयन बैंकको सह–नेतृत्वमा बैंक अफ काठमान्डू, राष्ट्रिय वाणिज्य बैंक, कुमारी, कृषि विकास, एनसिसी लगायत ९ बैंकले लगानी गर्ने टुंगो लागेको छ । बैंकको लगानी फिर्ता अवधि अर्थात् पे ब्याक पिरियड करिब ५ वर्ष रहेको वित्तीय सूचकांक देखिन्छ ।

अहिलेसम्म आयोजनाको बाँधस्थलसम्म पुग्ने पहुँचमार्गको करिब ५० प्रतिशत काम पूरा भएको छ । रुख गणना पूरा गरी कटानको अन्तिम स्वीकृतिको प्रक्रियामा छ । यस्तै, आयोजनाको आवास क्षेत्रको निर्माण करिब पूरा भएको छ । निर्माणको पूर्वतयारीको काममा अहिलेसम्म करिब ५० करोड रुपैयाँ खर्च भएको छ ।

करिब ४ वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको आयोजनाका लागि २०८० भदौ २ गते विद्युत उत्पादन गर्ने समय तोकिएको छ । आयोजनाबाट पहिलो वर्ष प्रतिमेगावाट आम्दानी करिब ४ करोड ७ लाख रुपैयाँ हुने देखिन्छ ।

 

Source: Urja Khabar

Date: 18-11-2076