काठमाडौं । रामेछापमा निर्माण हुने ५७.५ मेगावाटको नुप्चे–लिखु जलविद्युत आयोजनामा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले स्वपुँजी लगानी गर्ने टुंगो लागेको छ । कम्पनीले स्वपुँजी लगानी गर्न लागेको यो निजी क्षेत्रको पहिलो आयोजना हो ।

भिजन इनर्जी एन्ड पावर प्रालिले निर्माण गर्ने आयोजनामा एचआइडिसिएलले ५० करोड रुपैयाँ पुँजी लगानी गर्नेछ । लगानी सम्बन्धी सम्झौतामा आइतबार एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत छबिराज पोखरेल र कम्पनीका अध्यक्ष टिएन आचार्यले हस्ताक्षर गरेका छन् ।

एचआइडिसिएलले चालू आर्थिक वर्षदेखि सुरु गरी ५ वर्षभित्र करिब २२ अर्ब रुपैयाँ स्वपुँजी लगानी गर्ने लक्ष्य राखेको छ । योजना अन्तर्गतको नुप्चे–लिखु पहिलो आयोजना भएको र चालू आवमा २० करोड रुपैयाँ निकासा हुने एचआइडिसिएलका उप–महाप्रबन्धक मुक्तिबोध न्यौपानेले बताए ।

‘स्वपुँजी लगानीका लागि निजी क्षेत्रका १३ आयोजनाले प्रस्ताव पेश गरेका छन् तर चालू आवमै सम्झौता गर्ने चरणमा कुनै पनि छैनन्,’ उनले भने, ‘विस्तृत अध्ययन, अनुगमन र मूल्यांकन गरेर लगानी गर्दै जाने हो ।’

आयोजना राम्रो प्रतिफलयुक्त भएकाले सरकारी कम्पनीले विश्वास गरेर स्वपुँजी लगानी गर्ने निर्णय गरेको कम्पनीका अध्यक्ष आचार्यले बताए । आयोजनाका लागि चार वर्षभित्र अर्थात् २०८० भदौ २ गते विद्युत उत्पादन गर्ने समय तोकिएको छ । तर, कम्पनीले तोकिएको समयभन्दा ३ देखि ६ महिना अगाडि नै विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

Source: Urja Khabar

Date: 18-11-2076