काठमाडौं । भिजन इनर्जी एण्ड पावर लिमिटेडले प्रवद्र्धन गरेको ५७.५ मेगावाट जडित क्षमताको नुप्चे लिखु जलविद्युत आयोजनाले ६५ करोड बराबरको आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरको ६५ करोड रुपैयाँ बराबरको कुल ६५ लाख कित्ता साधारण सेयर जारी गर्न एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले आफ्नो जारी पूँजीको १० प्रतिशत सेयर अर्थात ३२ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र कम्पनीको जारी पूँजीको अधिकतम १० प्रतिशत सेयर अर्थात ३२ लाख ५० हजार थान सेयर सर्वसाधारणका लागि जारी गर्ने जनाएको छ । सर्वसाधारणलाई छुट्याएको सेयरको दश प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आरक्षण गरिएको छ ।

भिजन इनर्जी एण्ड पावरले नुप्चे खोला र लिखु खोलाको पानी प्रयोग गरी रामेछापको उमाकुण्ड गा.पा. वडा नं. १ मा नुप्चे लिखु जलविद्युत आयोजना (५७.५ मेगावाट) निर्माण गरिरहेको छ । विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको यस कम्पनीले विद्युत खरिद–बिक्री सम्झौता, वित्तिय व्यवस्थापन, वातावरणीय प्रभाव मूल्याङ्कन गरिसकेको छ ।

सरकारी स्वामित्व रहेको एचआईडिसिएलको लगानी रहेको यस कम्पनी निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न दृढतापूर्वक अगाडि बढिरहेको छ ।

Source: Notebazaar

Date: 23-08-2079